Thursday, May 27, 2010

शालीन विद्रोहको समर्थन गर्दैछु !

परम्परागत घेरा भन्दा
बाहिर उभिएर
म भित्र को ‘म’ लाई
प्रत्याभूति गर्दै
एक्काइसौ शताब्दीको
यो स्वार्थी
मानसिकतालाई
हुङ्कार दिन चाहन्छु!

तोते बोलीको शुरुवातसंगै
प्रस्फुटित हुन प्रयासरत
वैयक्तिक स्वतन्त्रताहरु
संस्कारिक रंगले
धमिल्याएपछि
प्रतिबन्धित अवसरहरुसंग
प्रत्येक मोडमा
भेटिने शुरुवात र अन्त्यसंगै
जुध्न आउने दृष्य
केवल प्रश्न तेर्स्याउछन,
तर, अब
हरेक प्रश्नको जवाफ दिनु
या नदिनुको अधिकार
म आफै भित्र समाविष्ट गर्न चाहन्छु!

कुनै औचित्य छैन यहाँ
मेरो शालीन त्यागको
म चाहन्न
आफू हारेर अरुलाई जिताउन,
स्वाभिमानका साथ
विजयमा रंगिएको
संभ्रान्त साँझ
हेर्न लालायित रहर
गुम्स्याउन उचित ठान्दिनँ अब
त्यसैले, म भित्र को ‘म’ लाई
उद्बोधन गर्दै
शालीन विद्रोहको समर्थन गर्दैछु!

Saturday, May 15, 2010

गजल

तिरस्कृत औलाहरु उनै फर्केर हेर्यौ
दोबाटोमा साथ अर्को, तर फर्केर हेर्यौ

निर्दोष दृष्ट प्रित चन्चल रहर उस्तै
समिप ल्याएर आफै, तिमी तर्केर हेर्यौ

निसर्त समर्पन अयोग्य थियो कि साच्चै
तृषित यी नजरमा, आशु छर्केर हेर्यौ

मेट्न नसकि पद्छापहरु हिडेका संगै
रंगाउदै थिए झन ,धुलो सर्केर हेर्यौ

नदेखेको कुरा नि सत्य तथ्य भए सबै
विडम्बना! मेरो आत्म,-कथा झर्केर हेर्यौ

Monday, May 10, 2010

खोज्दैछ.....

एक जीवन्त आत्मा
दुबै तिर बन्द बाटो

अन्धो निर्देशन ,
रित्तो पेट,

अनि,
नांगो खुट्टामा

जिगीषा,
अध्यारो रातमा
टल्काउदै आँखा
तलाशीरहेछ

एक सुन्दर सपना!!