Friday, November 6, 2009

भो चाहिएन मलाई... मेरो खुशी खोस्ने कालो श्रावण!!

झरी पछिको बिहानी जस्तै
सफा मेरो मन सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन- दिनहरु

गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको
कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!

पुग्यो!! चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्!

मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा
निरन्तर मेरो उज्यालो संसारको
गला रेट्ने तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ!
हरेक पलमा
माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहीन भएकाछन।

कति चोटी
असह्य र वेदनाले पोलेका स्वरहरु कराउन
खोजे किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला
अनि मेरो सृजनाको
मिठो आवाज खोस्ने प्रयास गर्यो!

ए कालो बादल!
प्रीतिको नाममा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्यांग-
तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा,
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!

तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरीरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जीवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!

बस् भो! पुग्यो!! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा शुभेच्छाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई... मेरो खुशी खोस्ने कालो श्रावन!!