Monday, November 21, 2011

मीठो आँशु!

कहिले गहभरी टिलपिल

छपक्क परेली भिझाउदै

कहिले सुकोमल गालाको तलझर्दै

ओठभरी भरिएर

मलाई मेरा रहरहरु अनि

मेरो कल्पनाको सुखानुभूति दिने

मेरो प्यारो आँसु !

मेरो मीठो आँसु !!





अनेकौं संस्कारले रंगिएर

आफ्नै जिन्दगीका रंगहरु

आफ्नै प्रकृतिका उमँगहरु

सबथोक भुसुक्क भुलेर

कर्तब्य र चलनको दायरामा

चुर्लुम्म डुबेको बेला

मेरो मन मष्तिस्कबाट

सजल आँखाहरु भरिएर

टिलपिल टिलपिल झर्दै

मेरो अस्तित्वको प्रत्याभूति दिने

मेरो प्यारो आँसु !

मेरो मीठो आँसु !!





कहिले मेरो पदचिन्हहरुमा फूल बर्षाउँदै

कहिले मेरो सिउदोभरी रंग छर्काउँदै

मेरो प्रत्येक खुसीयाली मनाउन

मेरो जिन्दगीको स्वाद समेटेर

मेरै ओठसम्म टुप्लुक्क झर्ने

अति स्वादिष्ठ आँसु

अति विशिष्ठ आँसु

अझै पनि उस्तै निरन्तर बहिरहन्छ

मेरो खुशीमा अनि मेरो पीडामा

मेरो प्यारो आँसु !

मेरो मीठो आँसु !!