रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।
कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।
भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।
चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
र पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ ।