Sunday, October 31, 2010

नियम!

के पढि राख्नु भा?’
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘

भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’

‘उसोभा पुरुष केहि होइन?
'तिमी यस्ता प्रश्न शोधेर मेरो कान नदुखाऊ त!
’पुरुष त घर को हेड हो नि। ऊ बिना महिला सार्थक हुदैन। महिलाले असल नियम बनाउनु पर्छ र पुरुष र परिवारको अरु सदस्यले त्यसलाई पालन गर्नु पर्छ।अनि मात्र हामीले सफल जीवन बिताउन सक्छौ।‘’ उस्ले शीलाको हात आफ्नो हातमा राक्दै ब्याख्या गर्छ। बिहानभरिको भान्साको धौडधुप, अफिस को कामको चटारो, घरधन्धा र बच्चाको रेख देख स्कूल अनि छुट्टै घरायसी कर्तव्यले थिचिएकी शीला सार्थकताको परिभाषा संझिन्छिन तर 'घरको हेड'को परिभाषा समुरद्रको लहर जस्तै दिमागमा बगिरहन्छ!
‘खै मेरो कपडा तयार भयो?’
उस्को आवाजले उनी भित्र एककिसिमको भाव संचारित हुन्छ - यो पनि नियम नै हो नि ! पालन गर्नु पर्छ!
‘हजुर ह्यांगर मा छ उता’ उन्ले कपडा तयार भएको तिर देखाउछिन।
‘ह्या ल्याउन! ‘ दोश्रो आदेश आउछ ,सायद य पनि नियम नै हो!
‘पालन गरेको खै त?!’शीला भित्र आफै संग अन्तरविरोध गर्दै जवाफ दिन्छन- ‘ म अब भर्खरै देखि नियम बनाउदै छु। ‘
‘कस्तो?’ उस्ले मुख बंग्याउदै सोध्छ।
‘आफ्नो काम आफै गर्ने’ आँखा झुकाउदै शीला जवाफ दिन्छिन ।
‘नजिस्क !‘ उनी स्तब्ध तर मुस्काउदै कपडा पुराइदिन्छन।र हाँस्दै भन्छीन ‘बेल्का चाँडै फर्किनुस र जस्तो मन लिएर जानु हुदैछ त्यस्तै मन लिएर फर्किनुस है त—मैले अर्को नियम बनाए’
‘ल ल धेरै भयो’ उस्ले बाई भनेर हात हल्लाउन उचित ठानेन।
ऊ हतार हतार निस्कन्छ घर बाट। निकै फुर्तिसाथ हिडेको पतिदेव गएको पर सम्म हेरिरहन्छिन शीला।
अस्तु!

Thursday, October 28, 2010

सोच्दैछु

म सोच्दैछु

के उपहार दिउँ

मलाई सबभन्दा प्यारो लागेको कुराहरू

या,

मलाई भुल्न गाह्रो लागेको कुराहरू

तिम्रो पहिलो स्पर्श

या,

दोश्रो स्पर्श

र स्थायी न्यानोपन!

पहिलो फूल

या, दोश्रो फूल

र यसरी बनेको उपवन!

एक दूरी

एक विरह

र फेरि मुटु फुट्ने मिलन!

एक तलबितल

फेरि ढाढस शितल

र जीवनको जीवनकै रूपमा अखण्ड किर्तन

मलाई सबभन्दा प्यारो लागेको कुराहरू

मलाई भुल्न गाह्रो लागेको कुराहरू

उपहार ल ?!!



(समर्पित उसलाई )

Tuesday, October 26, 2010

किन आभास हुन्छ: कोहि मलाई पर्खिरहेछ

फक्रिदैछन कोपिलाहरु
डेजी लिलीका गुछ्छाहरु
तर म किन सम्झिरहेछु?
बेली चमेलीका बोटहरु
सुगन्धित सुनगाभाको प्रस्फुटनहरु !!

उस्तै हरियाली उस्तै शितलता
उस्तै छहारी उस्तै मधुरता
तर किन मलाई अनुभूतीछैन?
वरपिपलको अदभूत शीतल
थकाई पछीको चरम सन्तुष्टि

पाइला लम्कि रहेछन्
गन्तब्य चिहाईरहेछ
तर किन याद आईरहेछ?
उकाली ओरालीका साथहरु
सफलताका अनगन्ति कामनाहरु

हरेक बिहानी मेरो आँखाको
निमन्त्रण दिरहेछ नयाँ संरचनाको
तर किन म संझिरहेछु?
स्पर्स त्यो आँखीझ्यालको
दिग्दर्शन त्यो अटल पहाडको

उही धर्ती म टेकीरहेछु
उही आकाश म देखीरहेछु
तर किन यथार्तता मेरो आँखामा नौलौ छ?
त्यो को हो? जो मलाई ईशारागरीरहेछ
किन आभास हुन्छ?
कोहि मलाई पर्खिरहेछ।।

Tuesday, October 19, 2010

आफैसंग!!

साच्चै टीकाको दिन आयो!! हुनपनि साच्चै राम्रो हुनेदिन यो ! नयाँ लुगा लाउनपाइने अनि बाहिर घुम्दा पनि कसैको रोकटोक नहुने! हातभरी पैसा अनि बाबा आमा दाजुहरु दिदीहरुले माया गर्दै दिएको आशिर्वाद ! ‘तिम्रो पैसा कति ?” हे हे यसरी सोधी सोधी हामी पैसा नै धैरै बनाउने उद्देश्य राखेर सबैकहाँ टीका थाप्न जाने गर्थ्यौ!आशीर्वाद कति सत्य भएर गए थाहा भएन तर त्यो बेला महत्व भनेको हातभरीको पैसा र नयाँलुगा अनि निर्धक्क को घुमाई नै थियो! त्यसैले दशै मलाई मनपर्ने चाँड! यो त भयो सानो हुदाको कुरा!





समय संग सबै कुरो बदलिन्छ। शारिरिक र मानसिक परिवर्नतले दैनिक जीवनमा हुने थुप्रै भावनात्मक परिधि निर्धारण गरेको हुन्छ! हो तिनै भावनात्मक परिधिले नै हामीलाई सामाजिक , सांस्कृतिक र नैतिक रुपमा एकअर्को संग बाँधेको हुन्छ! यो विरानो परिवेश र ब्यस्त समयका बाबजुद पनि आज आफ्नो घर भन्दा धेरै पर मलाई उही पहिलेको दिनहरु को सम्झना ले सताइ रहेको छ । निधार भरी छरिने ति राता अक्षता अनि पहेलो जमरा कति महत्वका थिए त ? नजिक को तिर्थ हेला जस्तै यस्ता कुरा काहिले सोचिएन! तर आज साच्चै मेरो भावना र मेरो आफ्नाको माया र आशीर्वाद यो संझेर आफ्नो संस्कार प्रति गर्व लाग्छ। अझै पनि बाबा आमाको आशीर्वाद र उहाँहरुले दिने पैसा उही पहिले जस्तै गरि हात भरी साँचेर देखाउदै हिडुँ जस्तो लाग्छ. दशैको यो बेला छोरी हरु फुरुंग छन। टीका लगाउन आतुर छन। र म जस्तै बाबा आमाले दिने पैसा गन्न आतुर छन। घर रमाएको छ । यो सब देखेर आज मलाई बाबा आमाले दिने उही कपडा र पैसाको आवश्क्ता र महत्व महसुस भएको छ ! हो हुन पनि , परदेशमा यस्को महत्व झन बढेर जाने रहेछ। कम्तीमा मेरो छोरीहरुलाई उनीहरुको हजुर-बाबा अनि हजुर-आमाको संझना भएको छ आज को दिन! अलिकति मन भित्र खिन्नता छ तर पनि छोरीको खुशी अनि घरको उज्यालो ले मेरो मन रमाएको छ!





आजको यो दिन हामी समस्त नेपाली जो घर देखि पर छौ र जो बाबा आमाको आशीर्वाद लिन आतुर छौ सबैको लागी सुनौलो शुरवात बनोस बिजया दशमीको धेरै धेरै शुभकामना!

Thursday, October 7, 2010

चिठी

(यहाँहरु बैलाई हिन्दुको यो महान चाँड बडादशैको शुभकामना सहित ति संपूर्ण दिदी बहिनी जो यो महान चाँड दैशैको बेलामा पनि परिवार देखि टाढा परदेशमा दिन बिताउन बाध्य छन लाई हृदय देखि नै समर्पित गर्दछु!)

आमा!

यसपालिको दशैमा पनि
उही पुरानो पोको टकटक्याउदै
तिमीले दिएका अक्षतालाई
तिम्रो आशिर्वाद संझिदै
म स्वयं टीको थाप्दैछु!!

प्यारी छोरी,
दशैको आगमनसंगै
तिम्रो रहर मेट्न
तिम्रा ति छोटा
र मसिना कलिला हातमा
कोसेली स्वरुप
मेरो मात्तृत्वलाई सान्त्वना दिन
तिम्रो प्यारो नाममा
मैले मेरो आशिर्वाद पठाउदै छु!

हजारौ माइलको यो दूरीबाट
परदेशी आमा
अक्षरका यि शब्दमाला भित्र
बिछोडको पिडाले
ब्याकुल मन
आशीर्वाद सहित
तिमीलाई शुभकामना दिन
प्रेषित गर्दैछु छोरी!


तिउरी र बकम्बेलीका फुलहरु जस्तै
रंगी विरंगी भावनाहरु आँखाभरी छरिन्छन,
तिमी टिप्दै छौ कि लालुपातेका पत्रहरु
मेरो स्वागतको लागी
तर पृय!
यसपाली पनि
मेरो निधार
रातो टीका र पहेलो जमरासंगै
ति पाउहरुमा बिसाउन असमर्थ छु !

अब त परिवर्तन भयो रे
सोच्दैछु, कस्तो भयो होला?
कुन रंगमा फेरियो होला
मैले टेकेको धरती!!
हेरत!
विदेसिने बेला
मेरो पछ्यौरीमा
तिमीले पोको पारेको माटो
वर्षौ हुदा पनि जस्ताको त्यस्तै, छ
यसपटक पनि पोको खोलेर हेर्नेछु
उही सुगन्ध सहित
तिम्रा प्रेमिला औलाहरु
मेरा आँचल भित्र सल्बलाउदै छन कि भनेर!

कस्तो देखिन्छ अचेल,
मेरो आँगन!
मिर्मिरेमा रातो माटोले सजिने मेरो दैलो
आँखा भरि अल्झिरहन्च!
कस्तो हुदो हो!
फेरी पनि कमेरोमा
मेरा हातहरु लतपतिन पाए!!
साच्चै,
आँगनको छेउमा हुने त्यो
तुलसीको मठ
मेरो सन्ध्याको दियो पर्खिदो होला !!
त्यसैले हो कि त सुन्दर शहरको
यो झिलमिलीले
आँखा बिझाउछ मेरो?!

पृय!कतै पनि, यो रंगीन दुनियासंग
रंगीन सकिन म!
उही माटोको सुगन्ध खोज्दैछु
यो चिल्लो सडकमा भौतारिदै अझै!

त्यसैले,
विछोडको पिडाले छिया छिया मन
अक्षरमा परिणत गर्दै
दशैको धेरै शुभकामना सहित
मुटुभरीको माया
अर्कोसालमा
शुखद मिलनको कामना भरी
तिमीलाई टक्रयाउदै छु
है त!!


----

विश्लेषण

आदरणिय दिदी बहिनीहरु!

आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी । ऊठ्नुस , जाग्नुस धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ’ ।तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।

‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको बरु शंखघोस् हुनेछ एकताको! संपूर्ण आमाहरु,दिदीहरु बहिनीहरु, म, एक छोराको नाताले, दाजुको नाताले र भाइको नाताले यहाँहरुसंग एकताको हात फैलाउछु। आऔं हामी पाइला पाइला मिलाएर अहिल्यै देखि परंपराको सांघुरो घेरा तोडौ!''



सभाजनहरु मूघ्ध थिए उस्को आवाज संगै। मन्चमा फुलमालाको बर्षा भयो।दोसल्ला ओढाइए।

ऊ थुप्रो माला दोसल्ला लिएर सफल मन लिएर गर्व साथ घर फर्क्यो।



घर पुग्दा झमक्क साँझ परिसकेको थियो। दियो बाल्दै गरेकी सानीछोरीलाई आज्ञा दियो उस्का माला दोसल्ला सम्हाल्न। ऐकैछिन मा शीला पानी लिएर आइन- ‘ कस्तो रह्यो त आज हजुरको?’ मुखभरिको बाक्लो थुक प्याच्च थुक्दै बोल्यो ऊ ‘गज्जव’!

पतिदेवको हसिलो अनुहार देख्ने बितिकै शीलाले भनिन-‘ भोली महिलाको मिटिङ छ रे मलाई पनि बोलाएका छन’।

उस्ले अलि अलि झर्किदै भन्यो ‘के को? पर्दैन! ‘’

उस्ले शीलालाई संझाउदै भन्यो ''तिमी यी आइमाईको कुरोमा नलाग है, हेरत धर्मले पनि नारी पुरुष बिच कार्य विभाजन गरेको छ । पुरुष बाहिर सम्हाल्ने र नारी भित्र संहाल्ने। हामी त्यस्लाई तोडेर समाजमा धर्म विरोधी हुन सक्दैनौ । सिद्दान्त र ब्याबहारमा धेरै फरक हुन्छ।तिमी पनि हिड्न थाल्यौ भने यो हाम्रो स्वर्ग जस्तो घर उधारिन्च।'' उस्ले शीलालाई माया गर्दै नारी पुरष कार्यविभाजन को विश्लेषण गर्दै थियो।