Tuesday, October 19, 2010

आफैसंग!!

साच्चै टीकाको दिन आयो!! हुनपनि साच्चै राम्रो हुनेदिन यो ! नयाँ लुगा लाउनपाइने अनि बाहिर घुम्दा पनि कसैको रोकटोक नहुने! हातभरी पैसा अनि बाबा आमा दाजुहरु दिदीहरुले माया गर्दै दिएको आशिर्वाद ! ‘तिम्रो पैसा कति ?” हे हे यसरी सोधी सोधी हामी पैसा नै धैरै बनाउने उद्देश्य राखेर सबैकहाँ टीका थाप्न जाने गर्थ्यौ!आशीर्वाद कति सत्य भएर गए थाहा भएन तर त्यो बेला महत्व भनेको हातभरीको पैसा र नयाँलुगा अनि निर्धक्क को घुमाई नै थियो! त्यसैले दशै मलाई मनपर्ने चाँड! यो त भयो सानो हुदाको कुरा!





समय संग सबै कुरो बदलिन्छ। शारिरिक र मानसिक परिवर्नतले दैनिक जीवनमा हुने थुप्रै भावनात्मक परिधि निर्धारण गरेको हुन्छ! हो तिनै भावनात्मक परिधिले नै हामीलाई सामाजिक , सांस्कृतिक र नैतिक रुपमा एकअर्को संग बाँधेको हुन्छ! यो विरानो परिवेश र ब्यस्त समयका बाबजुद पनि आज आफ्नो घर भन्दा धेरै पर मलाई उही पहिलेको दिनहरु को सम्झना ले सताइ रहेको छ । निधार भरी छरिने ति राता अक्षता अनि पहेलो जमरा कति महत्वका थिए त ? नजिक को तिर्थ हेला जस्तै यस्ता कुरा काहिले सोचिएन! तर आज साच्चै मेरो भावना र मेरो आफ्नाको माया र आशीर्वाद यो संझेर आफ्नो संस्कार प्रति गर्व लाग्छ। अझै पनि बाबा आमाको आशीर्वाद र उहाँहरुले दिने पैसा उही पहिले जस्तै गरि हात भरी साँचेर देखाउदै हिडुँ जस्तो लाग्छ. दशैको यो बेला छोरी हरु फुरुंग छन। टीका लगाउन आतुर छन। र म जस्तै बाबा आमाले दिने पैसा गन्न आतुर छन। घर रमाएको छ । यो सब देखेर आज मलाई बाबा आमाले दिने उही कपडा र पैसाको आवश्क्ता र महत्व महसुस भएको छ ! हो हुन पनि , परदेशमा यस्को महत्व झन बढेर जाने रहेछ। कम्तीमा मेरो छोरीहरुलाई उनीहरुको हजुर-बाबा अनि हजुर-आमाको संझना भएको छ आज को दिन! अलिकति मन भित्र खिन्नता छ तर पनि छोरीको खुशी अनि घरको उज्यालो ले मेरो मन रमाएको छ!





आजको यो दिन हामी समस्त नेपाली जो घर देखि पर छौ र जो बाबा आमाको आशीर्वाद लिन आतुर छौ सबैको लागी सुनौलो शुरवात बनोस बिजया दशमीको धेरै धेरै शुभकामना!