Friday, December 24, 2010

तिमी बाँचेकी हैनौ, सास फेरेकी हौ !

तिमी बाँचेकी हैनौ नि
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!

हरेक बिहान
मिर्मिरेको उज्यालो संगै
तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई
तर त्यो मन्द विष
फैलिदै,
जकड्दैछ तिमीलाई!
‘म’ को अस्तित्व भुलेर
कसैको शब्दजालमा कसिएकी छ्यौ
एकपटक सोच त
तिम्रा भावनाहरु व्यक्तिगत स्वार्थको लागि
कसरी चूडालिन्छन
कसैको आडम्बर बनेर!
नपत्याए सोध आफै संग
के तिमीले लगानि गरेका तिम्रा सीपहरु
तिम्रो प्रयोजनका लागि भएका छन त?
के अर्ध भोक हुदै चुहाएको तिम्रो पसिना
तिम्रो हत्केला मा नै भरिइन्छ त?

हो त्यसैले म भन्दैछु
तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ
सास फेर्नु र
बाँच्नुमा
फरक
छ!!


तिम्रो शुद्दता हिउ संग दाजिन्छ
जस्को अस्तित्व
एक धर्को घामले मेटाइदिन्छ
तिम्रो मन पानीको चन्चलता संग जोखिन्छ
जस्को अस्तित्व झुकावतिर तर्किन्छ
पुग्यो अब,
अस्विकार गर ति उपमाहरु
बरु हल्लैहल्लको यो वस्तिमा
प्रतिध्वनित भएको होस तिम्रो आवाज
खण्डहर हुन नपाउदै महलमा
पुजीएको होस तिम्रो अस्मिता
अनि पो बाँचेकी हुन्थ्यौ

अब सास लिनलाई बाँच्न हैन
बाँच्नलाई सास फेरौ !!
तिमी स्वीकार गर या अस्वीकार
त्यो तिम्रो मर्जी,
तर तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ!!
मात्रै सास फेरेकी !!