Thursday, October 22, 2009

जीवन

रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।

कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।

भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।

चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ

Sunday, October 18, 2009

दाईको संझनामा!!!

सप्तरंगी टीका जस्तै तिम्रो जीवन रंगी रहोस
थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस
पत्र-सयपत्रीको जति तिम्लाइ खुशी मिलोस
मखमली फूल जस्तै नओलाउने जीवन रहोस

घेरीदिँए तिमीलाई दशधारा तेल राखी
पूजीदिए तिमीलाइ पञ्चज्योति दीपसाछी
जित अनि दिर्घायूको कामनागरी मनभरी
टुक्रयाईदिए दु:ख बाधा आउने ति बाटोभरि


बढिरहोस यात्रा तिम्रो निरन्तर गोरेटोमा
चुमीरहोस शिखरले सधै तिम्रो पाइलामा
शब्दभरि कोरीदिए मनभित्रको भावना
फक्रिरहोस तिम्रो जीवन यहीं मेरो कामना।।


(प्रकाशित नेपालीपोष्ट --मिति २३ अक्टोबर २००६.)

{घरको संझना आयो.
दाजुहरुसंगको रमाइलो टीका याद आयो,
लेख्न फुर्सद भएन,
तर समझना रोकिएन,
मलाई धेरै धेरै गुनासो
यो पराई भूमिसंग..... :( }