Friday, February 4, 2011

मानव मेरो संझनामा!


मानव,

उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ!



आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै दिन मेरा यि अक्षरहरु तिमीले सुन्ने छौ न बुझ्ने छौ। जुनबेला सुन्न चाहान्थ्यौ त्यो समय अब रहेन।

यति लामो यात्रा तय गरिसके पछि पनि तिम्रा शब्दहरु अझै उस्तै उत्साह र मधुर्यताका साथ् मेरो मानसपटल मा गुन्जिरहंचन --- ‘आश्माजी बुझ्ने कोशीश गर्नुस न’

तिम्रा यस्तो अभिव्यक्तिलाई बुझ्न कहिल्यै चाँहिन मैले । मेरो नामको पछाडी लागेको ‘जी’ मलाई भारी भएर आऊथ्यो । म किन त्यति गंभिर हुन्थे त्यो शब्दसंग तिमीले बुझ्ने कोशीश नै गरेनौ । मलाई तिम्रा भावनाहरु खोक्रा आदर्श लाग्थ्यो।

'सानो संबोधनमा पनि तिमी किन त्यती लोभी छौ?' –मेरो प्रश्नको जवाफ दिनुको साटो तिमी मेरो आँचल छोएर सोध्ने गर्थ्यौ ‘ यो के हो आश्माजी?’ म पनि त उस्तै हठी स्वभावकि थिए नि। शाब्दिक अर्थ को साटो मैले भावनात्मक अर्थ सम्झिदै हाँसेर टारीदिन्थे. अहिले सम्झन्छु ,साच्चै मानव त्यो 'जी' शब्द र मेरो आँचल संगको सबन्ध के थियो?? !!



आदर्शपुर्ण जीवन र ब्यवहारिक जीवन मा कति फरक हुन्छ है। सिद्दान्तै सिद्दान्तले परिभाषित तिम्रा शब्दजाल मलाई सधै माकुराको जाल जस्तै लाग्थ्यो ।जहाँ बाट पार हुन मुखभरी जालो ले छोप्नु पर्छ । हो त्यस्तै त थियो नि तिम्रो जीवन मेरो बुझाईमा !

मेरो यो घुमाउरो परिभाषालाई तिमी सकारात्मक तरिकाले 'मेरो झटारो मै तिर' जस्तै हरेक पटक मलाई नै पठाउथौ.

अझै सम्झना छ , कसरी अति सरल भाषामा अनुनय गरेको थियौ - ‘आहा ! कति राम्रो बुझाइ तपाइको ? कम्तीमा यो सोचलाई ब्यबहारमा उतार्नुस न आश्माजी! जानुस मुख भरी बेर्नुस त्यो जालोको धर्साहरु अनि च्याती दिनुस र निस्किनुस त्यो जालो बाट! अनि पो उज्यालो किरण मा हाम्रा मोडहरु दोबाटोमा फाटिने छैनन।‘



मैले तिम्रो शब्दको अर्थ बुझ्न चाहिन बरु मेरो नामको पछाडिको त्यै एक शब्दको उपस्थिति हाम्रो विवादको विषय बन्यो। यस्तो सम्झिए-तिमी संगसंगै हिड्ने मेरो रहरलाई तिमीले साथ होइन बरु चुनौति दियौ एकहोरो !



अब बुझ्दै छु हो साच्चै मैले तिमीलाई भन्ने गरेको माकुराको जालो जस्तै थियो नि हामी जन्मे हुर्केको वस्ति र समाज। अझै याद छ मेरा हरेक शब्दलाई तिमीले दिएको परिभाषा अनि अर्थ। बुझ्दै छु त्यो जालो नै त हाम्रो समाजको पर्दा थियो जहाँ अन्धविस्वास कुरीति, संस्कार र अत्ति सांगुरा प्रचलनको आँड लिएर म जस्तै अरु थुप्रै नारी लाई नै सधै ओजेलमा राखेको थियो। त्यो जालो च्यात्न त मुखभरी त्यसैका धर्साहरु बेर्नु नै थियो नि । तिम्रो इशारा ति अन्धविस्वास कुरीति, संस्कार र अत्ति सांगुरा प्रचलनप्रति पो लक्षित रहेछ .

मानव, तिमी देख्न सक्छौ त आज म भित्र आएको यो परिवर्तन अनि तिम्रा परिभाषा र शब्दजाल, म भित्र को उर्जा। अब म त्यै उर्जाको कारण माकुरोको जालो च्यात्ने प्रयास गर्दैछु । हो त्यै अब्यक्त प्रेमबाट प्रेरित छु।



‘शक्ति मागेर मिल्दैन -खोसेर लिनु पर्छ आश्माजी’ यति बेला तिमीले फेरि पनि मेरो आँचल छोएको थियौ । यसपटक मैले मेरो आँचल तिम्रो हातमा खोसेर लिदै तिम्रो त्यो बोलीको प्रतीकार गरेकी थिए - ‘मलाई चाहिएन शक्ति , म शक्तिलाई भन्दा मायालाई विश्वास गर्छु।’



सबै भन्दा ठूलो विवाद यहि भयो। हाम्रा बाटा एउटै त थिए नि!दिन र रात संगको संघर्ष अनि भेटिनु-छुटिनुको परिस्थितिको डरले बांधिएको मेरो मन जस्लाई मेरो अति स्वार्थी मानसिकता र सम्पन्नताको फेरोले जकडेको थियो। मलाई अझै पनि संझना छ त्यो दोबाटो जँहा मैले नै मेरो गन्तब्य तिम्रो अप्ठ्यारो परिस्थित संग झुध्नुपर्ने डर अनि अति बिकट वस्तीको पारिवारिक झन्झटको कारण अलग्ग पारेर मेरो रोजाईको यात्रा तय गरेकी थिए।



समयको यो लामो अन्तराल पछि म अनुभव सहित तिम्रो भनाइ स्वयं पुष्टि गर्दैछु .तिमीले जित्यौ मानब! सम्पन्नताले मात्रै नपुग्ने रहेछ. वर्षौ पछि तिमीले ब्यक्त गरेको अभिब्यक्ति मैले स्विकारे. मेरो मनस्थितिको कारण एक हुन नसकेकका हाम्रा बाटाहरु सम्झिदै आज यो तिम्रो दशौ. वर्षको पूण्य स्मृतिमा तिमीलाई मेरो अब्यक्त प्रेमको पुष्प गुच्छाहरु श्रद्दाञ्जलि स्वरुप!!!

उस्तै हठी छु अझै, के देख्न सक्छौ मलाई!?!

आश्मा

Saturday, January 1, 2011

मेरो प्यारो पुरानो वर्ष- म संझनेछु तिमीलाई सधै!!

नयाँ वर्ष फेरि उहिउस्तै नयाँ उमंग
रहर अनि आशा!
झुट्टा लाग्छ मलाई
रमिते जस्तो लाग्छ तिम्रो आगमन!
हुन सक्छ यस पटक जस्तै अर्को साल
मैले यो नयाँ वर्षलाई
तिमीलाई असाध्यै सम्झनेछु
उस्तै गरि जसरी अहिले पोहर सालको सम्झिदै छु!

पोहोर साल शुभकामनाको थुप्रो थियो
खै त उस्तै दिन र रात
खहरे आएर आगन भरी
निथ्रुक्कै पार्यो
भर्खरै पलाएका मुनाहरु!!
मलाई साच्चै अनौठो लाग्छ
पटक पटक ठेस लाग्दा
उनै शुभकामना सम्झिए
असफल हुदाका चोटहरुमा
उनै सफलताका शब्दमाला सम्झिए
साँझ बिहानको गर्ज टार्न नसक्दा
लाचारित हुदै अवसर खोज्दै
उनै संवृद्दिका शुभेच्छा सम्झिए!

खै र!!?
अनि तिम्रो आगमनमा म हरेक पटक निराश हुन्छु !!!

बरु तिमी पुरानो हुदा
पुरानो वर्ष,
म सम्झिरहे छु तिम्रो उपस्थिति,
र हामीले संगै ब्यथित गरेका ति समयहरु
जहाँ ठेस लाग्दा चट्टानसंग
मलाई पाठ दियौ बाटो फर्केर हेर्ने
हार्दाको क्षणमा,
मेरो आशु संगै तिमीले साटेका ति पलहरु
जस्ले मलाई एकपाइला अघि बढ्न उत्प्रेरित गर्यो
हो, सम्झने छु तिम्रो साथ
जहाँ साझबिहानको मेरो कठिन पलमा
तिमीले झन दृढताका साथ सामना गर्न सिकायौ!!
साधुवाद छ!! तिमीलाई पुरानो वर्ष
म चाहान्छु उहि पल ठ्याक्कै त्यहि,
एकपटक फेरिमहसूस गर्न र कसरी म अप्ठ्याराहरुमा पनि
मुस्काउदै अघि बढ्न सके
तिम्रो उपस्थितिमा!!

मेरो प्यारो अतित , पुनरावलोकन गर्दै
तिम्रो यो बिदाइमा म आशु चुहाउन चाहान्न
बरु तिम्रो साथ हुदा सिकेका
अनगिन्ती पाठहरु मनन गर्न चाहान्छु!
तिमी आउनु यस्तै नै
हरेक पटक नयाँ भएर!
अहिले होइन नयाँ वर्ष
तिम्रो आगमनमा
म कति पुलकित छु
अर्को वर्ष, तिमी पुरानो हुदा
जब तिम्रो बेलगाम मायाको साथ महसूस हुनेछ
म कति हर्षित थिए
तिम्रो उपस्थितिमा
अनि सुनाउने छु यस्तै नै
जसरी मैले मेरो प्यारो अतित
मेरो पुरानो बर्ष सम्झिदैछु !!