Friday, September 24, 2010

कथा

--हो त उस्को जस्तै मेरो रगत पनि रातो नै हुन्छ। फरक यत्ति हो मान्छेद्वारा निर्मित नियम पक्षपाती छ तर प्रकृतीले मानिस मानिस विच कुनै पक्षपात गरेको छैन।

*******************************************************

कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसूस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावनाहरु खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि बाल्यकालको उही छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-

“रेवती ! पर्ख-पर्ख !!” उस्को हात छोडेर झस्किदै अडिन्छु , फुपू ढोकाको संघारमै उभिदै मलाई छेक्नु हुन्छ।

रुक्न चाहान्न तर अगाडि पनि बढ्न पाउदिन। विवस म फटिंग्रेलाई हेर्छु अनि फुपूलाई। हो,फटिंग्रे म पनि उसलाई फटिंग्रे नै भन्छु। सबै उस्लाई त्यहि नामले बोलाउछन। तर , मलाई यो नाम मन पर्दैन।

एक दिन मैले बाबालाइ भने " बाबा फटिंग्रेको नाम ‘शिवप्रसाद’ राखि दिनुस न।" बाबाले मलाई संझाउदै भन्नु भयो"यो तिम्रो दादाको नाम हो"।त्यसो भए ‘हरिप्रसाद’ राखिदिनुस न त। बाबालाई शायद मेरो कुरो मनपरेन--"तिमी चुप लागेर बस त"। म आज्ञाकारी भए। तर मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।म उदास हुदै बाबाको कठोर आदेसलाई चुपचाप पालना गरे।



फुपूले अम्खोरामा पानी लिएर म भएतिर छर्कनु भयो र भन्नु भयो "जाऊ अब भित्र।“

म दौडेर आमा भएतिर गए "हेर त तिम्रो यो नाक को फूलीमा के टाँसिएको हरियो?" –माया तर सम्मान दिदै आमाले हप्काउन शुरु गर्नु हुन्छ । तर आमाले यसरी हप्काउदा मलाई निकै मनपर्छ। म झन काखमै लिप्सिदै जान्छु .... नकुनै अनुरोध नकुनै स्वीकृती मानौ आमाको काख मेरो अधिकार हो। ।म डराउदा,आमा भन्दा टाढा हैन नजिक हुन मनपर्छ "ल हेर कपाल मा पनि यस्तै छ"।

“ फटिंग्रे ! ए!फटिंग्रे ” !! आमाको आवाज ले म भयभित हुन्छु।

“हजुर न !!! उहि नम्र स्वर कानमा गुन्जिन्छ।

एकैछिनपछि फटिंग्रे हस्यागं फस्यागं गर्दै आउछ र अभ्यस्त उस्का पाइलाहरु संघार बाहिरै रुकिन्छन्। उ बाहिर उभिएको मलाइ मनपर्दैन। खै आमाले भित्र पस्न नदिएको हो अथवा समाजिक रितिरिवाजसंग डराएर हो उ कहिले पनि भित्र आउदैन । उस्को निन्यारो मुख देखेर माया लागेर आउछ। उ घर भित्र किन आउदैन मलाई सधै खुल्दुली हुन्छ तर आमालाई किन छुदैन त्यो जान्न चाहान्न म बरु उ आमाको काखमा नबस्दा खुशी हुन्छु। अरुले उस्लाइ केहि भनेको मनपर्दैन मलाइ तर आमाले चाहिँ गाली गर्दा पनि नरमाइलो लाग्दैन । किनकिन म उस्लाइ धेरै माया गर्छु। मेरो मन बोल्न थाल्छ- माया त म आमालाइ पो गर्छु त। उसो भए त्यो के होला ? म सोच्न थाल्छु उसो भए यो कुनै चेतना होला, भावना होला .... अथवा कुनै विस्वास होला अथवा सहानुभूति ....

"तल वेसी खोलामा गा'थ्यौ" फटिंग्रेको जवाफ संगै मेरो सहास बढेर आउछ।

"हो नि " म आमालाई कुरा प्रष्ट पार्न खोज्छु।

"आमा हाम्ले माछा मारेको" ।

'खै त माछा? आमाले अधिकार प्रयोग गर्नु हुन्छ् मानौ मेरो हरेक कुरा थाहा पाउनुपर्छ उहाँलाइ।

मलाई लाज लागेर आउछ झूट पक्डिएकोले। "छोरी!तिमी त झूट बोल्न पनि जान्दिनौ"

म निशब्द हुन्छु। आमालाइ थाहा छ .. छोरी माछा मार्न चाहान्ने बरु माछा पानीमा पौडेको हेर्न मन पराउछे।

हो त माछा पानीमा स्वतन्त्र उन्मुक्त भएर पौडेको कस्तो राम्रो। आहा!!! म पनि यस्तै पानीमा पौडनसके??!!!! म पौडन सुरु गर्छु उफ!!!पानीमा जादा त खुट्टा माथि पो आउछ त ?!! उफ!!! म आफूलाइ कमजोर सम्झन्छु । तर मलाई पौडिन भन्दा पानी माथि लागेको सिंवाली झार ओढ्न पो मनपर्छ, मेरो कमजोरीलाई छोप्ने प्रयास गर्छु म-

“फटिंग्रे!!” म कराउछु

“माछाको खुट्टा छैन त?” उ हाँस्छ ।

यसरी हाँसेको मनपर्दैन मलाई । तर म किन सक्दिन माछा जस्तो पौडिन, प्रष्न गर्छु आफै संग र उस्लाई सोध्छु फेरि-

“म माछा जस्तो पौडिन किन सक्दिन? “

“नानू हजुर ठूलो भए’सि सक्नु हुन्छ।”

पौडिदै गरेको उस्लाई सोध्छु म “तिमी कसरी सकेको त?”

उ रोमान्चित हुदै भन्छ “ म ठूलो छु”।

मलाई उस्को कुरा पटक्कै मन पर्दैन।

खुब! म भन्दा एकहात मात्रै त अग्लो छ नि ... मनमनै रिस उठ्छ मलाइ।तर उ म भन्दा ठूलो त पक्कै छ ..... आक्रोश पोख्न सक्दिन।

“अब घर जाने .... आउनुस” म फटिंग्रेको आवाज ले जर्याक-जुरुक उठ्छु।

“ल हजुरको खुट्टामा के लागेको?” म खुट्टा हेर्छु । हो त साच्चिक.. कालो तर चेप्टिएको म हटाउन कोशिस गर्छु त्यो कालो झन तन्किदै जान्छ ।म रुन थाल्छु दुखेको चै थिएन.. “हजुर रुनु भयो भने मलाई घरमा गाली गर्नुहुन्छ” उस्ले मलाई धम्क्याउदै माया देखाउन थाल्छ। मानौ उस्ले मेरो उ प्रतिको लगाव बुझेको छ। म चाहान्न कसैले उस्लाई गालीगरोस्।

“के हो त्यो?” मैले जान्न खोजे।

“ठूलो जूका” उस्ले आफ्नो टोपीले समातेर खुट्टा बाट निकालिदियो।

“हजुरको खुट्टा मा रगत.......?!

मलाई डर हैन कौतूहल जाग्यो रातो रगत देखेर ।

म सम्झन थाल्छु ----एकदिन उ घाँस काट्दै थियो । सानो सानो कीराहरु उड्दै एताउता गर्दैथिए। एउटा कीरा चाहिँ कहिले एता कहिले उता उफ्रिदै थियो।

“यो किन उफ्रेको? ” किरालाई हेर्दै म उस्लाई सोध्छु।

“ उफ्रेको हैन उफ्राइएको”... उस्को आवाजमा रुखोपन प्रष्ट झल्कन्छ।

“नानू हजुरलाइ कुन किरा मनपर्छ?”

“ मलाई म खमली किरा खुब मनपर्छ ” म प्रफुल्ल हुदै उस्लाई पनि सोध्छु “तिमीलाई नि?”

उस्ले मतिर हेर्दै गंभिरहुदै भन्छ-“उ त्यो उफ्रि’रहेको किरा मनपर्छ मलाई”।

मलाई हाँसो उठ्छ - “के हो यस्को नाम?”

“फट्याङ्रा” अनायास हाँस्न रोक्छु म।

मैले पहिलो पटक जीवन भित्र जीवन्तता भेटे –फट्याङ्रा उफ्रिदै थियो बाच्नलाई संघर्ष गर्दै थियो शायद।मैले फटिंग्रो शब्दभित्र सत्यता भेटे उस्को उपस्थितिको । किन किन मलाई उस्को नाम मनपर्न पो थाल्छ। बाबाले भनेको संझे मैले 'हरि’ नाम भित्र अदृष्य रुपमा भगवानको बास हुन्छ रे। त्यसैले उ हरि हुन सक्दैन” जो कसैले पनि देख्नै या महसूस गर्नै पनि नसक्ने वस्तुमा बाबाले त्यति धेरै महत्व किन दिएको होला ? मेरो खुट्टा बाट बगेको रातो रगत हेर्दै मैले फटिंग्रे र फट्याङ्राको तुलना गर्न थाल्छु।

-अस्ति घाँस काट्दा तिम्रो हातमा पनि रातो रगत थियो नि?” मैले उस्लाई सोधे

“हो” उ गम्भिर हुदै भन्छ।

“ तिम्रो रगत पनि रातो थियो त?”

उ चुपचाप हुन्छ।

उस्को स्तब्धता मलाई मन पर्दैन। उस्ले केहि भन्न चाहेर पनि भन्न नसकेको अनुभूति हुन्छ मलाई ।उस्लाई हेर्छु म ,त्यहाँ उस्को आखाँमा तूफानी समुद्रको छाल जस्तै उतार चढाव प्रष्ट देख्छु । मानौ उ बोल्न खोज्दा भाषाको कमि भए जस्तो , उस्को अन्तरमनमा चलिरहने द्वन्दहरु छहराको सङ्लो पानी झै पहरा र ढुंगाको प्रहारलाई पनि चुनौती दिदै उन्मुक्त प्रवाहित भएको देख्न चाहान्छु म। मेरो प्रष्नले मलाई नै गिज्याए जस्तो लाग्छ । हो त उस्को जस्तै मेरो रगत पनि रातो नै हुन्छ। फरक यत्ति हो मान्छेद्वारा निर्मित नियम पक्षपाती छ तर प्रकृतीले मानिस मानिस विच कुनै पक्षपात गरेको छैन।



मैले कुरा मोड्न चाहेँ मानौ उस्लाई खुशी गराउन चाहेँ....

“सबै माछा मिलेर जूकालाई किन नमारेको होला?”

मेरो प्रष्नले उस्लाई झन आक्रोशित बनाउछ -—

“किन माछाले जुका मार्ने ?”उस्ले पहिलो पटक मलाई प्रतिप्रष्न गर्छ—

“जूकाले हजुरलाई टोकेको छ माछालाई हैन”

त्यो जुका घस्रिदै मेरो खुट्टा नजिक आउदै रहेछ । यस्पटक उस्ले मेरो खुट्टा तिर बढेको जूकालाई हटाउने कोशिश गरेन बरु मेरो आँखामा हेर्दै मलाई सचेत गराउछ –

“आधा मरेर पनि हिड्दै छ जुका।''

म डराए र उस्लाई च्याप्प समात्छु ।

उस्का हातहरुले बलियो साहरा दिएको अनुभूति हुन्छ,अनि चुपचाप उस्को हातसमातेर घर तिर हिड्न थाल्छु म.......
******************************************************************************

रेवती! ए, रेवती! झोला लिएर आऊ छिटो," फुपू बोल्नु भयो।

हातारिँदै म भर्‍याङबाट ओर्लिएँ। फटिंग्रे तल मलाई नै पर्खेर बसिरहेको रहेछ।

मलाई देख्नेबित्तिकै भन्यो, ''खै दिनुस् झोला।''

मैले झोला ऊतिर हुर्‍याइदिएँ। एक अर्थमा मैले रिस पोखेकी थिएँ ऊसँग। अरु कसैलाई म केही गर्न सक्दिन थिएँ। ऊ नै एउटा थियो, जोसँग म मेरा भावना र आवेश पोख्न सक्थेँ।

''ह्याँ गाउमा राम्रो स्कूल छैन के, रेवती। त्यसैले तिमीलाई बजारको स्कूलमा नाम लेखाई दिएको।''

फुपूको आवाजमा माया थियो। मेरो उज्जवल भविष्यको सपना पनि थियो होला। तर मैले महसूस गर्न सकिनँ।

मलाई घरदेखि बाहिर हुँदाको परिस्थिति, फटिंग्रेसँग टाढा हुनु पर्दाको क्षण, नयाँ ठाउँ अनि नयाँ स्कूलको सम्झनाले झस्काइरहेको थियो। म सबै कुरा रोजी-रोजी लिने गर्थें। (उसो त त्यो मेरो बानि अझै पनि जस्ताको त्यस्तै छ) पढ्दा, खेल्दा, हिँड्दा मन परेको मान्छे हुनु पर्थ्यो मसँग। त्यसैले जब म खेल्न थाल्थेँ, उसलाई नै जोडीको रुपमा रोज्ने गर्थेँ म। गृहकार्य गर्नुपर्दा उसले नै लेखिदिन्थ्यो।

"नानू अब जाने हैन?" म झस्किएँ।

म टोल्हाएको देखेर उसले मेरो ध्यान मोड्न चाह्यो शायद। मेरो एकोहोरपन उसलाई मन पर्दैन थियो।

"अँ... हँ?" मैले मुण्टो हल्लाइदिएँ।

मलाई कतै जान मन लागेको थिएन। मेरो हरेक इशारा बुझ्थ्यो ऊ।

"ल ल हिँड।"

बाबाको पछिपछि आज्ञाकारी भएँ म, केही मदहोशमा।

मेरो इच्छाबाहिर घरदेखि टाढा लखेटिँदै थिएँ म। हिँड्नुभन्दा पहिले मैले केही सामान हातमा लिन चाहेँ तर उसले दिएन। घर छोड्नुको भन्दा मलाई उसँग छुट्टिनुको पीर थियो। बेला-बेला म उसलाई हेर्थें। तर ऊ कतै नहेरी सरासर हिँडिरहेको थियो।

अलिक पर पुगेपछि हाम्रो बाटो छुट्टिनेवाला थियो। मलाई रोउँ-रोउँ जस्तो लागिरहेको थियो। शायद यसरी घरबाट टाढा गराइनुको एउटा कारण ऊसँगको मेरो घनिष्टता पनि थियो। हुन त मेरा दाजु र दिदीहरु सबै बजारको स्कूलमा पढ्नु हुन्थ्यो।

एकैछिनमा बस स्टेशननेर आइपुग्यौं।

"फटिंग्रे अब तिमी जाऊ।"

बाबाको आवाज मैले सुनेँ।

"नानू राम्रोसँग पढ्नु ल," झोला दिँदै भन्यो फटिंग्रेले।

कति नै ठूलो भएर भन्नु परेको? म भन्दा एक हात त अग्लो छ नि! उसको कुराले मलाई अलिक रीस उठ्यो।

ऊ आँखाभरि आँशु टिलपिलाएर मलाई नै हेर्दै थियो। म चाहिँ उसको हातबाट झोला लिँदै थिएँ। हातको बुढिऔँलाको घाउमा धक्का दिएछु र, अलिकति रगत बग्यो। दुईदिनअघि मात्रै घाँस काट्दा उसले आफ्नो हात काटेको थियो। मनमनै मैले त्यो घाउको पीडा महसूस गरेँ। ऊ भने चुपचाप थियो। घाउभन्दा उसको मन बढी दुखिरहेको थियो त्यो बेला, शायद।


*********************************************************************************

एकदिन अवनाले भनिन्, ''हामी बनेपा जाने ल, शुक्रवार बिहान। वनेपामा १२ वर्षे मेला लागिरहेको आज भोलि''

सबैले स्वीकृति जनाए।

मेला भने पछि म हुरुक्कै हुन्छु मनमनै जाऊ कि लाग्यो। जान मिल्छ या मिल्दैन भन्नै सकिन,मलाई चाहिँ अलिक समय नमिल्ला जस्तो पनि लाग्यो । तापनि म भरे भन्छु है त भनेर टारेँ।उसो त साथीहरु संगको समय निकै अमूल्य लाग्छ।तर,जीवनका कयौ बसन्त काटी सक्दा पनि घरमा आमालाई नसोधेर हिड्ने आँट गर्न सकेकी छैन अझै। उमेरले परिपक्वता देखाउन थालेको थूप्रै भयो तर पनि सेतै फुलेकी आमाको स्विकारोक्ति बिना अझै पनि कुनै पनि कार्य प्रति आत्म विस्वास देखाउन सक्तिन। सायद यो मेरो संस्कारिक सोच हो; मेरा सबै सफलता आमाको आशिर्वाद बिना शंभव छैनन्। बेलुका घरमा सोधे अनुमती पाऐँ।

अब म पनि जान सक्ने स्थिति आयो। आधाबाटो ट्याक्सीमा अनि आधाबाटो साथीको मोटरसाइकलमा जाने निधो भएअनुसार हामी ट्याक्सीमा चढ्यौं। अरु साथी पनि मोटरसाइकलमा गए। वनेपामा १२ वर्षे मेला लागिरहेको थियो। मेला त माथि डाँडामा पनि लागेको रहेछ। सबै साथीहरू प्रफुल्ल भए, मेलाको रमाइलो देखेर.
यस्तो मेला मेरो लागि नौलो होइन। घरमा हुदा आमा संग धेरै पटक मेला (मेला भर्न) जाने गरेकी थिए। त्यसैले मेला भन्दा पनि त्यहाँको खेतको गह्रा कान्ला र परबाट देखिने पहाडका बडेमान केस्राहरू अनि खोलाको सङ्लो पानी, ससाना माछा र ठूल्ठूला ढुंगाहरूले मेरो मन तानिरहेको थियो। साथीको हाँसोमा रमाउन सकेकी थिइनँ म। त्यहाँको सुन्दर दृष्यले स्मृतिको सुदूर क्षणतर्फ धकेलिरहेको थियो मलाई।

"माथिबाट तल हेर्दा निकै सुन्दर देखिन्छ। जाम् न माथि," अवनाले भनिन्। उनी त्यो ठाउँमा पहिले आइसकेकी रहिछन् क्यारे।
सबैले माथि नै जाने निधो गरे। साथीहरूको पछि-पछि मैले पनि सिंढी चढ्न शुरु गरेँ। सानै उमेर देखि उकाली र ओरालीसंग लेकवेसी गरेकीले म संग उकालो बाटोको छुट्टै मित्रता छ। बेला-बेला आफू कति माथि पुगियो त भनेर तलतिर फर्केर हेर्ने गर्थेँ म। यसरी फर्किँदा हरेक पटक एउटा अनौठो मान्छेको अनुहार मेरो आँखामा ठोकिन्थ्यो। मलाई यस्तो परिस्थिति अलि अप्ठारो लाग्छ तर ऊ कोही परिचित जस्तो थियो। किन किन मेरो मन पनि ऊ तिर तानिए झै थियो तर म चाहिँ उसलाई ध्यान नदिएर जस्तो गरि आँखा अन्तै घुमाइदिन्थेँ। साथीहरू फटाफट हिँडेर माथि गइसकेका थिए। तर म चाहिँ हिँड्न सकिनँ। मेरो मनमा शुषुप्त इच्छा जाग्यो या हिड्न हैन रुक्न चाह्यो। थाकेको महसुस भएर आफूलाई यसो बिसाउने ठाउँ खोज्दै थिएँ। एउटा माग्ने देखेँ। उसको खुट्टा काटिएको थियो। तर उसले ऐया! भनेको सुन्दा चाहिँ कतै चोट घाउ भएको जस्तो लागेन मलाई।

तै पनि सोधेँ, "काटेको हो हजुरलाई?"

"हो, हजुर।"

तर उसको बनावटीपन प्रष्टै देखिन्थ्यो। तै पनि दुई रुपियाँको नोट दिएँ। उसलाई प्रतिप्रश्न गर्न उचित लागेन। मानिसहरू रहरले होइन, विवश भएर नै लाचारी बाटो समात्छन्।

म हेर्दै थिए पारी कान्लामा खेतका गह्राहरु, सुन्दर तरेली परेका परका पहाडहरुदेखेर म भित्र बेग्लै तरंग संचारित हुदै थियो।

''नानू!''

कसैले नानू भनेको सुनेर म झस्किए।

कसैले मलाई नै बोलाएको जस्तो छ, तर मेरो नाम त नानू हैन। म सम्हालिएँ।

"मैले हजुरलाई नै बोलाएको," मेरो अगाडि उही पहिलेको मान्छे मुस्कुराउँदै आइपुग्यो।

म हेरेको हेर्‍यै भएँ। न बोल्न सकेँ न हाँस्न।

"चिन्नु भएन?" उसका आँखा अनौठो गरी चम्किरहेका थिए।

उसले मलाई एकटक लगाएर हेरिरह्यो। परिस्थिति मेरो लागि असामान्य थियो तर पनि प्रतिउत्तरको लागि शब्द थिएन।

"अँ..." मैले संझिने प्रयास गर्दै जमिनतिर हेर्दै थिएँ। एक्कासी मेरा आँखा उसको बुढीऔंलामा गएर रोकिए। दाहिने हातमा उसका दुईवटा बुढीऔंला थिए। अनि काटेको खत पनि प्रष्ट देखिन्थ्यो। विष्मृत मेरो मस्तिष्कमा अचानक स्मृति पलायो। ती जोडिएका औलासँग मेरो हत्केलाले कयौं पटक मित्रता गाँसेको महसूस भयो।मलाई प्रिय लाग्ने ती हत्केला र औंलाको संगम ताजा भयो। आँखाभरि धेरै पुराना दिनहरू घुम्न थाले- उही वन, पाखा, खोला र माछा। म हैरान थिए- कस्तो संयोग हो यो!!!

मैले उसलाई हेरिरहेँ। मलाई लाग्यो, उसको आँखामा अतितका सबै खुशीहरू, जो म बाट धेरै टाडा छुटेका थिए, एकैपटक प्राप्त भए जस्तो । कसरी कसरी फेरि एकपटक ती जोडिएका औंलासँग चोखो भावना साट्ने रहर जाग्यो । समय कहिलेकाहिँ कति बलवान हुदो रहेछ! समयले वर्षौं पुरानो याद हाम्रो सामु छताछुल्ल पारिदियो।

"चस्मा लाउन थाल्नुभएको हजुरले?" मेरो आँखामा हेर्दै सोध्यो उस्ले।

चस्मा लगाउछु र देख्यो उस्ले किन सोधेको होला फेरि? एकमनले 'लाउदिन" भन्न मन लाग्यो तर हिम्मत गर्न सकिन।

"हो त।" जवाफ दिए।

मुखले बोले पनि मनले म अझै अतितको गहिराइमा थिएँ।

"सरसंग (मेरो संबन्धित जो हामी दुबैको सर हुनुहुन्थ्यो) सँग निकै पहिले भेट भएको थियो। हजुर कीर्तिपुर छात्रावासमा बस्ने कुरा सुनेको थिएँ।" उस्ले मेरो बारेमा जान्न खोजेको प्रष्ट हुन्थ्यो।

"अहिले चाहिँ भक्तपुर।"विस्तारै मन र मष्तिष्कलाई अतितको गहिराइबाट बाहिर निकाल्ने कोशिश गरेँ।

परिस्थिति अलि सामान्य हुँदै गयो। तर मैले उसलाई संबोधन गर्ने शब्द पाएकी थिएनँ। मलाई कुरा गर्न असजिलो भएको

देखेर उसले नै भन्यो, "मलाई उही नामले बोलाउँदा हुन्छ।"


ओहो!!उसको बानी उस्तै रहेछ अझै पनि!!

उसले मलाई बोल्न सजिलो बनाइदिन खोजे पनि मेरो अप्ठ्यारो टरिरहेको थिएन। उसलाई ठूलो हुनुपर्ने सधैँ? मनमनै उही वाक्य याद आयो- कति नै ठूलो जस्तो, मभन्दा एक हात त अग्लो छ नि ऊ। उस्लाई हेर्दै मैले मेरो उचाँइ नापे। अनुमति थियो या थिएन आमाको तर पहिलो पटक मैले आत्म विश्वासका साथ ऊ भित्रको परिपक्वतालाई महसूस गरेँ । परिस्थिति सम्हाल्ने उसको तरिका मन पर्‍यो।

समयसँगै मानिसको स्वभाव र परिपक्वता परिवर्तन हुन बेर नलाग्ने रहेछ।

उसको हालखबरको पूरा विवरण त मसँग थिएन। गाउँको स्कूलबाट छात्रवृत्ति पाएर ऊ बुढानिलकण्ठमा पढ्न गएकोसम्म सुनेकी थिएँ।


"बाबा!"

हामी दुबै झस्कियौं।

"म मेदी (मेहन्दी) लगाउने।"


सानी ५-६ वर्षकी बच्ची नजिकै उभिरहेकी थिईन्।

"हेर न फणिन्द्र, छोरीले सताउन थालीन्। हात रंगाउने रे!"

एकजना महिलाको यो आवाज मलाई परिचित लाग्यो।

"होस् न त, लगाउन देऊ," उसले बच्चीको हात समाउदैँ भन्यो।

"जाऊ छोरी मेहन्दी लगाऊ," उसले ५ रुपैयाँ वालेटबाट झिकेर दिँदै भन्यो।

छोरी दौडेर गईन, हातमा मेहन्दि लगाउन।


'फणिन्द्र'!!!?

मैले सोध्न चाहेको कुरो उसलाई थाहा भएछ कि उसले मुस्कुराउँदै भन्यो, "हजुर गाँउ छोडे पछि हजुरको बाबाले दिएको मेरो नाम हो यो।"


म घरदेखि टाढा भएपछि बाबा आमासँग मेरो कमैमात्र भेट हुन्थ्यो। घरदेखि टाढा बस्दा आमाको निकै याद आउँथ्यो। बाबालाई मैले एक अभिभावक को रुपमा भन्दा अर्को रुपमा बुझ्नै सकिन ति दिनहरुमा। म निकै एकहोरी र दुब्ली भएकी थिएँ। हामी बसाइ सरेर पहाड र तराइ दुई तिर बाडिएका थियौ। स्कूल ,कलेज बिदा हुदा म तराईको घरमा जान्थे। एककिसिमले पहाड घरका थुप्रै कुरा बिर्सेकी थिए।फटिंग्रे मनमा थिएन। दिमागमा थियो। ऊ संग छुट्टिदाको परिस्थिति मेरो आँखा वरिपरि घुमी रहन्थ्यो तर पनि मैले बितेका दिनमा कहिल्यै फटिंग्रेको बारेमा कसैसँग पनि सोधिनँ।

"ए हो र?" मनमनै बाबा प्रति कृत्तज्ञता ब्यक्त गरे । बाबाले मेरो भावनाको यसरी कदर गर्नु हुन्छ भन्ने कहिल्यै सोचिन। मेरो आँखा आँशुले भरिए बाबाको संझनामा!


"अँ साच्चि नानू, उनी मेरी पत्नी," उसले औंल्याउदै भन्यो।

मलाई खासै रमाइलो लागेन उस्की श्रीमतीको उपस्थिति। यसो हेर्नमात्रै लागेकी के थिएँ, उनले भनिन्, "नमस्ते! म श्रष्टा शर्मा।"


नाम सुनेको हो कि जस्तो लाग्यो। तर परिचय गर्ने रहर नहुदा नहुदै पनि म जवाफ फर्काउँदै थिएँ, "म..."


"....आश्मा, हैनत?! " मैले भन्नै नपाई श्रष्टाले मेरो नाउँ भनिदिइन्।

"सुर्खेतको सम्मेलनमा भेट भएको थियो नि हाम्रो। बिर्सनु भयो?" आहा! कति शिष्ट भाषा! कति आत्मिय आवाज! म चुपचाप श्रष्टातिर हेर्दै थिएँ।

मेरो नाम सुन्दा उस्को अनुहार अलिक आश्चर्यचकित थियो।

"ए हो त," मैले हात बढाउँदै भनेँ। एकै पटक हर्ष र विष्मात छायो मभित्र।

"अनि तिमीले कहाँ चिनेको त आश्मालाई, फणिन्द्र?"

श्रष्टाको उत्सुकताले वातावरण अलिक असजिलो भयो।

मेरो नामले आश्चर्य चकित थिए दुवै। श्रष्टा मलाई आश्मा नामले चिन्थिन त ऊस्ले रेवती!

ऊसले मेरो शिरदेखि पाउसम्म उही पहिलेकै तरिकाले नियाल्दै भन्यो, "उहाँ नानू।" उसको गंभिर दृष्टिले अव्यक्त प्रेम र अपार आत्मीयताको अनुभूति भयो मलाई

तर अचम्म! कति निष्ठुरी हुन्छ मान्छे! मेरो मनको हलचल बुझेको खै ऊस्ले?! बिनसित्ति बोलिदियो 'म नानू' ! अब म त्यो पहाड र कन्दरासँग लुकामारी खेल्ने चुलबुले 'नानू' रहिनँ। मभित्र पहाडसँग प्रीति गाँस्ने अनि कन्दरासँग हातेमालो गर्ने उत्कण्ठा विकसित भइसकेको छ। गोधुलीको शीतल वताससँग ठोक्किएर निस्कने सुसेली सुन्दा रोमाञ्चित हुँदै मुटु तरंगिन थालेको वर्षौं भएको छ। उसको हेराइलाई म उही रेवती या नानूको दृष्टीले बुझ्न चाहन्नँ।


समय र परिस्थितिले हमीलाई टाढा गराइएकोथियो। तर, उमेरको उकालीसँगै मभित्र उब्जिएका चाहनाहरूलाई अदृश्य रुपमा अझैसम्म पनि मैले उसैको नाममा समाहित गरेकी छु। ऊ आज मेरो सामु उभिएको छ, म भित्रको ‘म’ एक्कासी तरंगिएको छ। मेरा रहरहरू पारिलो घामको किरणले हिउँ पग्लिए झैँ पग्लँदै छन्, जसलाई म उसको हत्केलाभरि समर्पण गर्न चाहन्छु। लामो समयका ती दिन र रातका छट्पटी अनि सपनालाई साकार पार्न चाहन्छु। तर यो परिवेश र क्षण विपरीत छ।फेरि पनि मनलाई बाँधेर दिमाग चलाउन विवश छु। मैले उसका लागि गरेका प्रभातकालीन शुभ-कामना अनि प्रार्थनाहरू म देखाउन सक्तिनँ उसलाई।

अर्को एकपटक परिस्थितिले धोका दिएको छ मेरो मनलाई। मसँग एउटा मनै त छ, जो मेरो अधिनमा छ। म बोल्छु मेरो मनसँग, कुरा गर्छु मनसँग र आफ्नो अटल प्रेम-कहानी उही मनलाई सुनाउँछु। ऊसँगको भेटमा मेरो भावनासँगै मन पनि रोएको छ। तर म एउटी नारीले आफ्नो एकतर्फी चाहनाको खातिर अर्की नारीको सुहागमा कात्रो बाँध्न मभित्रको मानवताले दिँदैन। नितान्त व्यक्तिगत स्वार्थको लागि म कसरी यति क्षुद्र बनूँ? अहँ! म वास्तविक जीवनलाई काल्पनिक कथाको मोड दिन सक्दिनँ।


अझैसम्म श्रष्टाले मुस्कुराउँदै मेरो हात समातिरहेकी थिइन्। मेरो मनको भूकम्प उनले महसूस गर्न सकिनन् अथवा उनी बुझेर पनि अबुझ बनिन किनभने त्यहाँ मेरो स्थितिको कुनै महत्व थिएन।

"नानू," उसले मौनता तोड्दै भन्यो।

"म अर्को शुक्रबार नर्वे जाँदै छु। दुई वर्षको लागि।"

परिस्थिति बेजोडको थियो। उसको जीवनको सफलता देखेर मलाई मिठो महसूस भयो।

"बधाइ छ, यहाँलाई," मैले खुशी ब्यक्त गरेँ।

"उही नामले बोलाउनुस् मलाई," उसले श्रष्टालाई हेर्दै भन्यो।

अहिले चाहिँ मैले हाँसो रोक्न सकिनँ।

"ल ल! हुन्छ, श्रष्टाजी?" मैले वातावरण परिवर्तन गर्न चाहेँ। ऊनी मुस्कुराउदै मलाई समर्थन गरिन्।

‘श्रष्टा शर्मा’ मेरो साथी नै त होइन, तर अलिक पहिले दलित समुदायको एउटा कार्यक्रममा भेट भएको थियो। त्यो बेला उनी नेपालगञ्ज क्याम्पसमा वाणिज्यशास्त्रमा स्नातक पढ्दै थिइन्। कार्यक्रममा व्यक्त उनका बेजोड तार्किक शब्दहरूले मलाई जातीय विभेदको विरोध गर्न थप उर्जा प्रदान गरेको थियो। मान्छे बोलीमा जस्तै व्यवहारमा पनि बलियो हुनुपर्ने रहेछ। श्रष्टा साँच्चिकै श्रष्टा हुन्। मध्ययुग सम्झाउने एक्काइसौं शताब्दीको छुवाछुती हाम्रो समाजलाई चुनौति दिने समाजकी श्रष्टा। आज फेरि एकपटक उनको सिद्धान्त र व्यवहारले मलाई मान्छेको जातलाई होइन, व्यवहारलाई सम्मान गर्नुपर्छ भन्ने पाठ सिकाएको छ। मेरो मनले श्रष्टाको साहसलाई सहर्ष सलाम गरिरहेको थियो।

"बाबा हेर्नुस त," दुबै हात उसको अगाडि तेर्स्याउँदै छोरीले भनिन्।

"उहाँलाई नमस्ते गर त, छोरी," मतिर देखाउँदै उसले भन्यो।

"होस होस् पर्दैन नमस्ते गर्न, बुट्टा बिग्रन्छ," उनको चुलबुले बानी नै मेरो लागि पर्याप्त थियो। "बरु, भन त तिम्रो नाउँ के हो?"


उनले बाबा-आमालाई हेर्दै भनिन्, "रेवती विश्वकर्मा।"


"आहा! कस्तो राम्रो नाम," मैले झट्ट भनेँ। तर मेरो हृदय एक्कासी मर्माहत भइरहेको थियो। मन थाम्न खोजे पनि मेरा आँखा रसाएको मलाई थाहै भएन।

"कसले राखीदिएको यो नाम?" उनको टाउको मुसार्दै आफूलाई सम्हाल्न कोशिश गर्दै सोधेँ मैले।

उनले बाबाको काखमा गएर अलिक लजाउँदै भनिन्, "बाबाले!"

रेवतीको कपालमाथि रहेको मेरो हातमा मेरो आँशुको एक थोपा विहानीको शीतको थोपा पातमा टिल्पिलाए जस्तै नाच्न थाल्यो।


इति!!

1 comment:

दूर्जेय चेतना said...

सबै भन्दा पहिले कथा निकै लामो रहेछ। एउटा उपन्यास त हैन तर पुरै उपन्यास भित्रको कथा छोटकरीमै पढ्न पाईयो। आश्माको नयाँ कुनै नयाँ उपन्यास पढेसरी रमाईलो लाग्यो। सानो कथालाई बाधेर, जोडेर, र गासेर जुन तबरले यहा लेख्नु भो, त्यो निकै सुन्दर बुनाईको म फेरि फ्याननै भए। आश्माजीका कबितानै पढे जस्तै रसिलो र बेलाबखत शब्दहरू लयबद्द भए जस्तै लागे।
कथा निकै सानो परिधीको छ तर बेला बेलामा आफैलाई अन्याय गरे जस्तो पनि लाग्यो। कथा पढ्दै जादा नानूले अन्याय गरेकै हुन्। उनलाई मन नपर्ने अनेकौँ यस्ता प्रशंग सगै:
मलाई यो नाम मन पर्दैन।
मलाई उस्को कुरा पटक्कै मन पर्दैन
मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।
उस्को स्तब्धता मलाई मन पर्दैन।
मेरो एकोहोरपन उसलाई मन पर्दैन
जस्ता कुरा आईरहदा:
बीचमा कतै जब : “परिस्थिति सम्हाल्ने उसको तरिका मन पर्यो ” जस्ता शब्दहरूको संयोजन देखा परे, तब फेरि केही आशा पलाएर आएकै हो। मनको कुण्ठालाई बेस्करी दबाएर राखेको पात्रको मनोदशा देखेर निकै दया लाग्यो र कता कता मनमा यसो नभई दिएको भए हुन्थ्यो जस्तो पनि लागेकै हो। किन की कथामा कतै यसो भन्दै गर्दा मनको भावहरू बेस्करी जकडिएर बसेको भान हुन्थ्यो। उदाहरणको रूपमा “मभित्र पहाडसँग प्रीति गाँस्ने अनि कन्दरासँग हातेमालो गर्ने उत्कण्ठा विकसित भइसकेको छ”
नानूले आफू ठूली भइसकेको भान दिन खोजे पनि, फटिंग्रेको यथार्थ मनोभावलाई सही मूल्याङ्कन गर्न नसक्नू नै नानूको कमजोरी रहेछ। फटिंग्रेलाई बुज्न मलाई पनि निकै गाह्रो भयो। साँचो भन्दा उ किन रोकियो वा नानूलाई यसरी किन हेरेन मेले पनि सोचेँ। कथाको सार्है रोचक पक्ष यही बसेको छ सायद। मैले यस्तै बुझेँ। तर अन्तिममा आँशुको एक थोपा के का लागि भन्ने प्रश्न मनमा रहि रह्योउ। कता आश्माले दया गरेकी हुन् वा उनले फटिंग्र माथि गरेको सम्मान। निकै रोचक अन्त्य छ।
राम्रो लेख्नु भयो, लेख्दै गर्नु होला।