Wednesday, December 16, 2009

केही प्रश्नसहित एक शिलन्यास !

केही प्रश्नसहित एक शिलन्यास
ए, रीत बोक्ने मान्छे !
ए, समाज बाँच्ने मान्छे !
ए, परम्पराका ठेकेदार !
तिमीले, आफ्नै सपनाहरुको लिगलीगकोट ताकिरहेकै बेला,
म,
आफ्नै प्रश्नहरुबाट थिचिएको छु ।
के, तिमी मेरा सपनाहरु दुरुस्त गर्न सक्छौ ?
जो गर्भ मै तुहिए - तिम्रा कारण । के, दिन सक्छौ ती भ्रुणहरुलाई जीवन ?
जसका सुन्दर संसार लुटिए - तिम्रा कारण ।
अर्थ प्रष्ट छ ।
गर्भाधानमा व्यवधान भो - तिम्रा कारण ।
साच्चै ! निशब्द बोली बोल्ने, ती भ्रुणहरुको हत्या, स्वीकार्य छैन मलाई ।
कमसकेकम, म त्यसैको मतियार हुन चाहन्न ।
क्षणभरको बहकाउ,अनी,तिम्रा वाइफाले उत्तेजना र रहरको चपेटामा,
म, आफ्नो धैर्यता बली चढाउन असमर्थ छु ।
स्वतन्त्र र स्वनिर्भर म, आफ्नै राजी खुशीसाथ,
स्वप्नील संसार निर्माणको रहर बाँच्दैछु ।
किनकी,म,
ती हरेक भ्रुण/रहरहरुको जिन्दगी सोच्दैछु ।
अनेक उपक्रमपछी तिमीले उधिनेका,
मेरा यौवनयुक्त रातहरुको 'फ्ल्यासब्याक' हुँदा,
घिटिघिटी बाँचेका मेरा विस्मयहरु,
तिमीसँग प्रश्नको हक दिँदैछन् ।
के, दिनसक्छौ ति मेरा सबै रातहरु ?
जो मेरो अस्तिवत्को प्रमाण थिए ।
के, दिन सक्छौ मेरा आँखाका भावहरु ?
खुशी र रहरहरुको छालयुक्त समुन्द्र थियो
अनि,विश्रृखलित गाजलु आँखाहरुबाट,
बेशी झर्दै गरेका,शीतयुक्त थोपाहरुबाट
तिम्रा हत्केला चिसिएका थिए ।
म, त्यसको रंगहीन रंगबाट,
आफ्नो अस्तित्वको भविश्य कोर्न चाहन्थेँ ।
तर,दिनानुदिन आजभोली म
,आडम्बर र विस्वासघातको दोसाँध भोगेपछी,
तिम्रा अप्रिय प्रहारहरुलाई,
खुलेआम चुनौति दिने हैसियत सँगाल्दैछु ।
के दिन सक्छौ मेरा ति यावत अठोटहरु ?
जो मार्गदर्शक थिएँ स्वप्निल भविष्यका !
के सच्याउन सक्छौ मेरा पदचापहरु ?
जो अकुत/अखण्ड गन्तब्य साँध्दै थिए ।
नत्र, मेरो खुसीका हरेक केश्रामा प्रश्न किन ?
सफलताका हरेक मोडहरुमा कर्तब्यको आहाल किन ?
के, फिर्ता गर्न सक्छौ, ति सबै सम्भावनाहरु ?
जो निशब्द दबिए - तिम्रा कारण ।
तिमी भन्छौ, संस्कारले बाध्यो - अचम्म !
संस्कार बनाउने को ?
के, नारीका कुमारी रहरहरुमा,
नित्य कैँची चलाउनु मात्रै तिम्रो परम्परा हो ?
भो, भैगो, पुग्यो अब,
अब ति कथित, तिम्रा परम्पराका ढोंगहरुलाई,
म जस्तै अरुहरुको, बन्धन बनेका प्रथाहरुलाई,
बाध्यताका आलिङ्गनहरुलाई,
संग्राहलयको दुर्गम कुनामा कैद गरेपछी,
उत्सव मनाउदै म, खुल्ला आकाश फक्रन चाहन्छु ।
यो रहर हैन, बाध्यता हो ।
यो इतिहासको दाग हैन,
समयको माग हो
यो भविष्ययुक्त नौलो पन्नाको, खुल्ला शिलन्यास हो ।

-(परिमार्जित भर्सन)
**********************************************************************************
नौलो पानाको शुरुवात

ए रीति
यो समाज भन्नेहरू
परंपरा मान्नेहरू
के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई
जो सुन्दर संसारको लागि गर्भाधान हुन आतुर थिए?

साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ
कसैको उत्तेजना र रहरको चपेटामा आफूलाई समाहित गर्न चाहन्नँ।
म राजी खुशीले संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु
के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए
फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?
जो नयाँ गन्तब्यमा प्रेरित थिए

हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?

तिमी फेरी भन्छौ होला संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो
के नारी मात्रै संस्कार हो?!!

भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म
त्यस्ता परंपरा जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू
जसले नेल भई मलाई बाँधेको छ

धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!
च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि
नौलो पानाको शुरुवात हो !!
http://www.dautari.org/2009/12/blog-post_16.html

7 comments:

सान्निध्य (Nepsasa) said...

अरुको भ्रुणमाथी मिठासपूर्ण कैची चलाएको मात्रै हो । जसरी दमाइदाईले हाम्रा लागी सुन्दर कपडा दिलाइदिन्छन् कपडा लगेर दिएँपछी म त्यस्तै स्वरुप लिन लालायित भएको मात्रै हुँ । मेरो सिलाई कटाई कस्तो भो थाहा भएन । यो यहाँहरुको जिम्मा ।

दीपक जडित said...

दुबै काटिएका कपडाहरु कपडाको गुणस्तरमा उहि छन नै तर निर्मित स्वरुपमा भने मलाई त तपाईंको आफ्नै लेखाई (तल्लो) नै मनपर्यो । पटक पटक गरेर धेरैपटक नै पढें यो कविता । कैले यो घनघोर आक्रोस अलि बढ्तै भएजस्तो त कैले यो घनघोर आक्रोसमा पनि चरम पीडाको गाढा लहर निक्कै परसम्म गएजस्तो लाग्छ । जे होस् नारामुखि भएर पनि कविता राम्रो छ ।

Ashesh said...

मैले दौँतरीमै आफ्नो कुराहरू लेखी सकेँ यो कविताको वारेमा । माथिको लेखाई गाह्रै भयो मलाई बुझ्न । अलि आफू अपरिपक्क भएर नि हुन सक्छ । तर तल्लो चाहिँ गजवै छ ।

Milan said...

nice one..

दूर्जेय चेतना said...
This comment has been removed by the author.
आश्मा said...

धन्यवाद है सबैलाई ! मेरो आफ्नै रचना भन्दा कमेन्ट पढ्दा निकै सन्तुष्ट हुन्छु म। वा वा संगै देखिएका कमी कमजोरी उदांग पार्दिदा झण रमाइलो लाग्छ :)

दूर्जेय चेतना said...

दुबै कबिताहरु साह्रै सुन्दर छ। भाव एउटै छ तर मनमा पृथक पृथक रुपमा तरङ्‍ग पैदा गर्ने खालको। आक्रोश, पिडा र अनुभूति एकैसाथ बगेका छन्।

धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!
च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि

यस्तै यस्तै मन छुने भावहरु र उनमुत्तीका निर्देशित दिशाबोधहरु... धेरै धेरै धन्यवाद सुन्दर कबिताहरु।