Wednesday, December 16, 2009
केही प्रश्नसहित एक शिलन्यास !
ए, रीत बोक्ने मान्छे !
ए, समाज बाँच्ने मान्छे !
ए, परम्पराका ठेकेदार !
तिमीले, आफ्नै सपनाहरुको लिगलीगकोट ताकिरहेकै बेला,
म,
आफ्नै प्रश्नहरुबाट थिचिएको छु ।
के, तिमी मेरा सपनाहरु दुरुस्त गर्न सक्छौ ?
जो गर्भ मै तुहिए - तिम्रा कारण । के, दिन सक्छौ ती भ्रुणहरुलाई जीवन ?
जसका सुन्दर संसार लुटिए - तिम्रा कारण ।
अर्थ प्रष्ट छ ।
गर्भाधानमा व्यवधान भो - तिम्रा कारण ।
साच्चै ! निशब्द बोली बोल्ने, ती भ्रुणहरुको हत्या, स्वीकार्य छैन मलाई ।
कमसकेकम, म त्यसैको मतियार हुन चाहन्न ।
क्षणभरको बहकाउ,अनी,तिम्रा वाइफाले उत्तेजना र रहरको चपेटामा,
म, आफ्नो धैर्यता बली चढाउन असमर्थ छु ।
स्वतन्त्र र स्वनिर्भर म, आफ्नै राजी खुशीसाथ,
स्वप्नील संसार निर्माणको रहर बाँच्दैछु ।
किनकी,म,
ती हरेक भ्रुण/रहरहरुको जिन्दगी सोच्दैछु ।
अनेक उपक्रमपछी तिमीले उधिनेका,
मेरा यौवनयुक्त रातहरुको 'फ्ल्यासब्याक' हुँदा,
घिटिघिटी बाँचेका मेरा विस्मयहरु,
तिमीसँग प्रश्नको हक दिँदैछन् ।
के, दिनसक्छौ ति मेरा सबै रातहरु ?
जो मेरो अस्तिवत्को प्रमाण थिए ।
के, दिन सक्छौ मेरा आँखाका भावहरु ?
खुशी र रहरहरुको छालयुक्त समुन्द्र थियो
अनि,विश्रृखलित गाजलु आँखाहरुबाट,
बेशी झर्दै गरेका,शीतयुक्त थोपाहरुबाट
तिम्रा हत्केला चिसिएका थिए ।
म, त्यसको रंगहीन रंगबाट,
आफ्नो अस्तित्वको भविश्य कोर्न चाहन्थेँ ।
तर,दिनानुदिन आजभोली म
,आडम्बर र विस्वासघातको दोसाँध भोगेपछी,
तिम्रा अप्रिय प्रहारहरुलाई,
खुलेआम चुनौति दिने हैसियत सँगाल्दैछु ।
के दिन सक्छौ मेरा ति यावत अठोटहरु ?
जो मार्गदर्शक थिएँ स्वप्निल भविष्यका !
के सच्याउन सक्छौ मेरा पदचापहरु ?
जो अकुत/अखण्ड गन्तब्य साँध्दै थिए ।
नत्र, मेरो खुसीका हरेक केश्रामा प्रश्न किन ?
सफलताका हरेक मोडहरुमा कर्तब्यको आहाल किन ?
के, फिर्ता गर्न सक्छौ, ति सबै सम्भावनाहरु ?
जो निशब्द दबिए - तिम्रा कारण ।
तिमी भन्छौ, संस्कारले बाध्यो - अचम्म !
संस्कार बनाउने को ?
के, नारीका कुमारी रहरहरुमा,
नित्य कैँची चलाउनु मात्रै तिम्रो परम्परा हो ?
भो, भैगो, पुग्यो अब,
अब ति कथित, तिम्रा परम्पराका ढोंगहरुलाई,
म जस्तै अरुहरुको, बन्धन बनेका प्रथाहरुलाई,
बाध्यताका आलिङ्गनहरुलाई,
संग्राहलयको दुर्गम कुनामा कैद गरेपछी,
उत्सव मनाउदै म, खुल्ला आकाश फक्रन चाहन्छु ।
यो रहर हैन, बाध्यता हो ।
यो इतिहासको दाग हैन,
समयको माग हो
यो भविष्ययुक्त नौलो पन्नाको, खुल्ला शिलन्यास हो ।
-(परिमार्जित भर्सन)
**********************************************************************************
नौलो पानाको शुरुवात
ए रीति
यो समाज भन्नेहरू
परंपरा मान्नेहरू
के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई
जो सुन्दर संसारको लागि गर्भाधान हुन आतुर थिए?
साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ
कसैको उत्तेजना र रहरको चपेटामा आफूलाई समाहित गर्न चाहन्नँ।
म राजी खुशीले संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?
त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु
के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए
फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?
जो नयाँ गन्तब्यमा प्रेरित थिए
हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?
तिमी फेरी भन्छौ होला संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो
के नारी मात्रै संस्कार हो?!!
भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म
त्यस्ता परंपरा जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू
जसले नेल भई मलाई बाँधेको छ
धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!
च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि
नौलो पानाको शुरुवात हो !!
http://www.dautari.org/2009/12/blog-post_16.html
Friday, December 11, 2009
कोशेली तिमीलाई!!
थोरै होला पोकोमा सिंगो हिमाल अर्पन्छु
हुनत, तिमीले खनेको गोरेटोमा
एक पाइला मेरो पनि हुनु पर्थ्यो
आँधी जस्तै तिम्रो त्यो आगमनमा
गती मेरो पनि हुनुपर्थ्यो
तिमीले देखाएको ‘तारो’मा
एक संगीन मेरो हुनुपर्थ्यो
तिमीलाई भेट्दा त्यो आँखामा
ज्वाला आक्रोसको दर्द पिडाको
आभास भएको थियो
खोलाको बगरमा मेरी बहिनी
बालुवा र रगतले पुरिएकी………..
देख्दा मेरो जमिन थर्किएको थियो ,
त्यहि रातो टिका तिम्रो निधारमा
अनि हरियो दुबोको माला
सिंगै तराइ तिमीलाई
लम्कदै जानू
गन्तब्य पर्खीरहेछ
अटल सगरमाथा साहस दिईरहेछ
मेची देखि काली जुर्मुराइ रहेछ!!
बस्!
आवाज देऊ!
करोडौ प्रतिध्वनी
तिम्रो शंखनादको
हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ
सफलतामा बजेका
करोडौ तालीहरुमध्ये एक ताली मेरो हुनेछ
नडगमगाऊन
तिम्रा अदम्य पाइलाहरु
अखण्ड लक्ष प्राप्तिको लागि
कोषौ टाढाबाट यी शब्दहरु काफी नहोलान्
तर मेरो ह्रदयभरीको
अटुट “विश्वास अनि शुभ-कामना”
कोशेली तिमीलाई
(( २००६ -जनआनदोलन शुरुहुदाको यो मेरो गनथन ---त्यसैको सफलताको लागि थियो --- हामीले थुप्रै कुरा पायौ तर विडम्बना त्यस्को सहि उपयोग गर्न अझै सकेका छैनौ---खै आझ के कुराले मलाई अतितको यो पाना तिर तान्यो --जे होस जहाँ रहे पनि देश , आमा र मित्र आत्मा भित्रै बस्नेरहेछन )
Monday, December 7, 2009
प्रेमसंग गुनासो छ!!
मिचिदै जा अझै
पिल्सिु पर्छ तैले
ए रोएको मन
रुदै जा अझै
आँशुका धारा हरु थोरै भए
पुरै समुन्द्र सृजनु छ यहाँ
ताकि हरेक बिरहका बिन्दुहरु
समाहित हुन सकून त्यँहा
कुनै दिन हावामा लहरिदै
उड्ने ति पखेटाहरु
हेर त कसरि टुक्रिदै छन
खुल्ला आकाशमा चंगा जस्तै
निस्फिक्रि तरंगिने रहर
कठोर चट्टानमा संग जुधांउनु छ
किनकी यहाँ खुशी हुन मनाही छ
र प्रेमसंग गुनासो छ
Friday, November 20, 2009
पत्थरमा ठक्कराइ जीउनै बिर्सेछु!
साथदिने हृदयका खालि बाटा भरि
तिमी भूल्यौ टाढिएर अन्तै प्रहरमा
उत्रु लौ! कसरी डुबेकीछु तरंगमा
सागर भित्र लहर साँची राखे यति
तिमीमै छल्किएर मैलाई पुग्ने जति
त्यै लहरले बगाउदा अनि ब्युँझीआएँ
म त रे'छु सपनामा र त धोखा पाएँ
सतहमा जिन्दगीको पौडिदै जादा
यथार्थ नै बिर्सेछु गहिराइमा पुग्दा
प्राप्ति संगै आज पूर्णतामै रित्तिएछु
पत्थरमा ठक्कराइ जीउनै बिर्सेछु!!
Friday, November 6, 2009
भो चाहिएन मलाई... मेरो खुशी खोस्ने कालो श्रावण!!
सफा मेरो मन सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन- दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको
कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!
पुग्यो!! चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्!
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा
निरन्तर मेरो उज्यालो संसारको
गला रेट्ने तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ!
हरेक पलमा
माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहीन भएकाछन।
कति चोटी
असह्य र वेदनाले पोलेका स्वरहरु कराउन
खोजे किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला
अनि मेरो सृजनाको
मिठो आवाज खोस्ने प्रयास गर्यो!
ए कालो बादल!
प्रीतिको नाममा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्यांग-
तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा,
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!
तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरीरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जीवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
बस् भो! पुग्यो!! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा शुभेच्छाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई... मेरो खुशी खोस्ने कालो श्रावन!!
Thursday, October 22, 2009
जीवन
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।
कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।
भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।
चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
र पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ ।
Sunday, October 18, 2009
दाईको संझनामा!!!
थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस
पत्र-सयपत्रीको जति तिम्लाइ खुशी मिलोस
मखमली फूल जस्तै नओलाउने जीवन रहोस
घेरीदिँए तिमीलाई दशधारा तेल राखी
पूजीदिए तिमीलाइ पञ्चज्योति दीपसाछी
जित अनि दिर्घायूको कामनागरी मनभरी
टुक्रयाईदिए दु:ख बाधा आउने ति बाटोभरि
बढिरहोस यात्रा तिम्रो निरन्तर गोरेटोमा
चुमीरहोस शिखरले सधै तिम्रो पाइलामा
शब्दभरि कोरीदिए मनभित्रको भावना
फक्रिरहोस तिम्रो जीवन यहीं मेरो कामना।।
(प्रकाशित नेपालीपोष्ट --मिति २३ अक्टोबर २००६.)
{घरको संझना आयो.
दाजुहरुसंगको रमाइलो टीका याद आयो,
लेख्न फुर्सद भएन,
तर समझना रोकिएन,
मलाई धेरै धेरै गुनासो
यो पराई भूमिसंग..... :( }
Friday, October 16, 2009
उपहार तिम्रो अन्तस्करण देऊ मलाई !!
यथार्थ जे छन् ती अनावरण देऊ मलाई
वर्षौ देखि जर्जर छु भग्नाबशेष हुन बाँकी
नढल्दै निर्माणको उदाहरण देऊ मलाई
पुछ्न थाल्यौ मलम फेरि नसुक्दै घाऊहरु
प्रतिबद्धता ओखतीको आमरण देऊ मलाई
उही पुरानो ढाँचा नै किन नयाँ परिवेशमा
नमक्किने परिस्कृत संस्करण देऊ मलाई
पाराकाष्ठा नाघीसक्यो तिम्रो ओठे शब्दजालले
म फ्याँकिदिन्छु तिम्रो आवरण देऊ मलाई
** यो ब्लग कहिले चै भाँडो तर कहिले चैं हाँडो हुनेरहेछ साच्चै। अघिल्लो महिना देखि हुदै गरेको अस्थिरता र ब्यस्तताको कारण निकै पछी आज तर मेरो पुरानो डायरीबाट मेरो गन्थन झिकेर यता नयाँ झुपडीमा सारेकी छु जस्ताको त्यस्तै..:)
Wednesday, September 30, 2009
तँलाई मेरो सलाम!
हृदयभरि उपहास बोकेर
जब म,
निराधार यात्रा हिड्दैथिए
त्यतिबेलै,
मेरा ति सबै सुषुप्त भावनाहरुमा
मायाको अंकुरण जगाउदै
मेरा निर्बल पाइलाहरुको
बलियो साहारा बनेर
उदयमान जीवन
तँलाई मेरो सलाम!
Sunday, September 20, 2009
के तपाईँलाई पनि त्यस्तै लाग्छ?!
‘के छ हजुर को हालखबर? सबै ठिकै छ घरमा?!’
‘ठिकै छ त..!!’
‘ अनि दाई नानीहरु ‘
‘ठिकै छन् ! अनि उहाँलाइ पनि सन्चै छ!’
‘अनि नेपाल तिर नि?’
‘राम्रो छ रे’
‘ठिक ठिक बोल्नु है दिज्यू ..झुट नबोल्नु ल’झन माया पो देखाउन थालीन त उनी !!!!
‘किनझुट बोल्ने तिमी संग म?’—साच्चै मलाई झोक चल्न थालेको थियो उनी संग।
‘हेर नानी, बोल्न मन लागे सहि बोल्छु बोल्न मन नलागे म झुट त बोल्दै बोल्दिन बुझ्यौ? मलाई झोक नचलाऊ त!- मैले हाँसर भने ।
‘दुखी हुनु भन्दा बरु झोक नै चलाउनु । तर..’
‘तर के?’
‘अं ..अँ....नि अनि किन त्यस्तो लेख्नु भा त?’
‘किन ?कहाँ? के लेखे मैले?!एकै सासमा मनमा लागेको थुप्रै प्रष्न सोधे मैले।
‘त्यहाँ ब्लगमा!!’
लौ भयो त अब !!
अचम्म !!!
मैले लेखेको गन्थन् सबै मेरो जीवनमा गुज्रिदै गरेको वा साच्चैको नै हो भन्ने लागेछ उन्लाई।
म चै मन भरी मिठो तरंग लिदै अन्तिम सर्को चिया घुटुक्काएर छोरीको स्कूलबस कुर्न बाटोतिर लागे।
तर उन्ले भनेको कुरा धेरै बेर सम्म मनमा खेलीरह्यो। साच्चै साहित्यिक रचनाका सबै घटनाहरु के रचनाकारले ब्यक्तिगत रुपमा भोगेर मात्र लेख्ने गर्छन त?!!!
Thursday, September 10, 2009
जुनी बिसाईं दिउँला!
पाए कतै निमन्त्रणा समिप मै आई दिउँला
देखे इशारा मात्रै नै चोखो माया लाई दिउँला
छोईदिए उनले झन जोडले धड्कि दिउँला
सोधे भने ‘जीवन’ मुटु भित्रै देखाई दिउँला
ईन्द्रेणीको रेखा भित्र सारा यौवन भरिएको
मागे उन्ले प्रेमले सातै रँग्मा रँगाई दिउँला
साचेकीछु तृष्णाहरु सबै लुकाएर छातीभरि
हेरे मात्रै मायाले हत्केलामै थमाई दिउँला
सजाइरहेछु गोरेटो मेरो उन्को प्रतिक्षामा
संझी आए कदमभरी नयन ओछ्याई दिउँला
सोचाइले मात्रै भेट्को' रोमान्चित हुदैछु आश्मा
स्पर्शै भए पुग्छ नि पृय! जुनी बिसाई दिउँला
Wednesday, September 9, 2009
मन एउटै तरंग बेग्लै
खुकुरीको धार माथि
टक्र्याउन के सकिन पृय!?
र प्रहार गर्यौ ढाड माथि!!
उपस्थिति नै काफी छ बरु
नझिम्काऊ तिमी परेलीहरु
नदेखाऊ तिमी इशारा अरु
छल्किनै आँटे मेरा ओठहरु!!
चक्र यो जिन्दगीको
घुमी रहेछ वेहोसमा
कहिले हाँस्दै कहिले रुदैं
गुज्रिरहेछ हर मोडमा!!
Tuesday, July 28, 2009
वर्तमान!
बाँचीरहेच
घायल हृदय
स्मृतीहरुको साथमा,
तर कहीँ कतै फेरी संझना नै
अभिशाप नबनोस भनेर
निराशामै पनि
हिडीरहेछ मुस्कुराउदै
औंशीको तारा जस्तै !!
Sunday, July 26, 2009
म
बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार
बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार
स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु
एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु
जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु
मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु
हत्केला- रेखाहरुमा म जीवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जीवनलक्ष मेट्नै सक्दिन
भाग्यले निर्देशित हुने म जीवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन
नरित्तिने रैछ आँशु
नरित्तिने रैछ आँशु परेली झनै भिझ्ने रैछ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने
बर्षौ अघि आज कै दिन तिम्लाई भेट्न तड्पिएथे
आँखा भरी रहर साँची तिमीलाई पुजेकीथे
सुम्पिएथे मन भरी तन भरी तिमीलाई
किन अर्को चित्र कोर्यौ च्याति मेरो तस्विरलाई
नभुलिने रैछ त्यो क्षण संझना भै बस्ने रैछ
मुटु टुक्रा भएपनि धड्कन झनै बढ्ने रैछ
संगै हिड्यौ लामो यात्रा मिठा थिए साथहरु
काँडा माथि पाइला राखी एउटै रोज्यौ लक्षहरु
सयौं धूनमा भरेकीथे खुशीभरि तिमीलाई
किन अर्को पाना खोज्यौ मेटी मेरो प्रीतलाई
नफेरिने रैछ लक्ष मनभित्र गढ्ने रैछ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने रैछ
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन!!
हिजोआज भावना यो तन्किदो छ दिन दिन
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन
आउछौ तिमी पवन बनि मिर्मिरेको बिहानी भै
जान्छौ छोडी नमिटिने रंग मोहनीको तालमै
रंगिन्छु म पत्र पत्र तिम्रो त्यो रंगमा
सप्तरंगी ईन्द्रेणी झै यो मन चम्किदो छ दिनदिन
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन
चिम्लन्छु म नयनहरु ज्योती भै झल्मलाउछौ
तिर्सना बनी छातिभित्र सुस्तरी चलमलाउछौ
बिपनाभरि परेलीमा किन सपनाभरी मुटुभित्रै
चाह मेरो लहर जस्तो उर्लिदो छ दिन दिन
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन
हिजो आज भावनायो चुलिदो छ दिनदिन
तिम्रो हो या मेरै रहर उर्लिदो छ दिनदिन!
आँखैमा मात लाग्ने
समाहित हामीदुबै, त्यो प्रहर याद आयो
समर्पित सबै विस्वासमा, शून्य सरी दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो
पिउने बहानामा, धेरै पटक बाजी थापि
रित्तिएको संगै रातको, लहर याद आयो
आँशु साटी भावनामा चाहाना थाती राखेर
विछोडिदाको हाम्रो उहि कहर याद आयो